काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलबारे रोचक टिप्पणी गरेका छन् ।
शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल वर्षाका कारण प्रभावित भएपछि पाँच ओभरमा छोट्याइएको थियो । उक्त खेलपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेल त बरु ५ ओभरकै खेलाउँदा, मज्जा आउने रहेछ ।’
सामान्यतया २० ओभरमा खेलाइने टी–२० क्रिकेट वर्षाका कारण छोट्याएर पाँच ओभरमा सञ्चालन गरिएको थियो । छोटो खेलमा सुरुदेखि नै आक्रामक ब्याटिङ गर्नुपर्ने भएकाले खेल थप रोमाञ्चक बनेको थियो ।
उक्त खेलमा विराटनगर किंग्सले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले दुई विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । प्रधानमन्त्री शाहको टिप्पणीले वर्षाका कारण छोट्याइएको खेलको रोमाञ्चकताप्रति उनको प्रतिक्रिया सार्वजनिक गरेको छ ।










