काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । शनिबार भएको वर्षाले छोट्याएको पाँच ओभरको खेलमा विराटनगरले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको हो ।

लगातार दुई खेलमा पराजित भएको विराटनगरले तेस्रो खेलमा जित निकाल्दै दुई अंक जोडेको छ । विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।

ADVERTISEMENT

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए । सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन जोड्दा आरिफ शेखले पनि अविजित १७ रन बनाए ।

ADVERTISEMENT

विराटनगरका लागि आन्द्रे रसेलले दुई ओभरमा आठ रन मात्र खर्चेर एक विकेट लिए । एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन खर्चेर एक विकेट हात पारे ।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो बलमै शेरफान रुथरफोर्डको विकेट गुमाएको थियो । रसेलले उनलाई आउट गर्दै विराटनगरलाई सुरुवाती सफलता दिलाए । दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि सुदूरपश्चिम सात रनमै दुई विकेट गुमाउने अवस्थामा पुगेको थियो ।

त्यसपछि सैफ जैब र अन्य ब्याटरले रन जोड्ने प्रयास गरे पनि ठूलो लक्ष्य भेट्टाउन सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

विराटनगरका लागि शेहान जयासूर्याले ११ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ३९ रन बनाए । लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे ।

त्यस्तै, आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्काको मद्दतमा अविजित २९ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।

विराटनगरले पहिलो ओभरमै ३५ रन जोड्दै आक्रामक सुरुवात गरेको थियो । एनपीएलमा डेब्यु गरेका श्रीलंकन स्पिनर थरिन्दु रत्नायकेको पहिलो ओभरमा जयासूर्याले पाँच छक्का प्रहार गरेका थिए ।

जयासूर्या र लोकेश बमले आक्रामक ब्याटिङ गर्दा विराटनगरले केवल आठ बलमै ५० रन पूरा गरेको थियो । तेस्रो ओभरमा अभिनाश बोहराको बलमा जयासूर्या एलबीडब्लू आउट भए । सुरुमा अम्पायरले नटआउट दिए पनि रिभ्युबाट उनी आउट भएका थिए । त्यसपछि क्रिजमा आएका रसेलले लोकेश बमसँग मिलेर विराटनगरको स्कोर १०५ रनसम्म पुर्‍याएका थिए ।

ढिला सुरु भएको खेल

वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको आउटफिल्डमा पानी जम्दा विराटनगर र सुदूरपश्चिमबीचको खेल निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिला सुरु भएको थियो ।

शनिबार साँझ ५ बजे सुरु हुने तय भएको खेलका लागि सुरुमा साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने तालिका बनाइएको थियो । तर टसका लागि विराटनगरका कप्तान सन्दीप लामिछाने मैदान पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएनन् ।

त्यसपछि क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का, म्याच रेफ्री र सम्बन्धित पक्षबीच लामो छलफल भएको थियो ।

एक घण्टाभन्दा बढी समयको अन्योलपछि राति ८:५४ बजे सुदूरपश्चिमका खेलाडी खेल्न तयार भएका थिए । अन्ततः राति ९ बजे टस गर्ने र ९:१५ बजे खेल सुरु गर्ने निर्णय भएको थियो ।

टस जितेको सुदूरपश्चिमले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । आउटफिल्ड गिलो भएको र विदेशी खेलाडी खेल्न तयार नभएको कारण सुदूरपश्चिम टसका लागि जान अनिच्छुक देखिएको भए पनि यसबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।