काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आग्रह गरेको हो।

ADVERTISEMENT

इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेको छ। समितिले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज १५ गतेदेखि हुने वडा अधिवेशनसहित पार्टीका विभिन्न तहका अधिवेशनमा सहभागी हुन आह्वान गरेको हो।

ADVERTISEMENT

कांग्रेस संस्थापन समूहले १५औं महाधिवेशन मंसिर १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। त्यसको विपरीत इतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ।

समिति संयोजक कोइरालाले पार्टीको आन्तरिक एकता कायम गर्दै सहमति, सहकार्य र संवादका माध्यमबाट महाधिवेशन सम्पन्न गर्न आफूहरूले निरन्तर प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको बताएका छन्।

कोइरालाले संस्थापन समूहले महाधिवेशनको मिति र कार्यतालिका एकलौटी रूपमा घोषणा गरेको आरोप लगाएका छन्। विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र पार्टी एकतामा क्षति नपुर्‍याउन आग्रह गरिए पनि त्यसलाई बेवास्ता गरिएको उनको भनाइ छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको निर्णय पर्खिनुपर्ने इतर समूहको धारणा छ। उक्त विवादको टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने कोइरालाले बताएका छन्।