काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।

आङदेम्बेले शान्ति–सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको टिप्पणी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। साथै, तत्काल गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने उनको माग छ।

ADVERTISEMENT

उनले संवेदनशील परिस्थितिमा सबै पक्षले उच्चतम संयमता अपनाउनुपर्नेमा जोड दिँदै हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधान नहुने बताए। दुवै समुदायलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउन उनले आग्रह गरेका छन्।

आङदेम्बेले सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन्। साथै, सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको भनाइ छ।

ADVERTISEMENT

उनले पछिल्लो समय सरकारप्रति नागरिकको असन्तोष बढ्दै गएको दाबी गर्दै आत्मदाहजस्ता दुःखद घटना तथा शान्ति–सुरक्षासँग सम्बन्धित संवेदनशील घटनाहरू दोहोरिनु सरकार जिम्मेवारी निर्वाह गर्न असफल भएको संकेत भएको बताएका छन्।

साथै, संवेदनशील समयमा जिम्मेवार व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत असहिष्णुता फैलाउने गतिविधि नगर्न पनि उनले आग्रह गरेका छन्। कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।