काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व परिवर्तनको सम्भावित बाटोमा अघि बढेको छ । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद बढाएका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रले सोमबार देउवा नेतृत्वको कार्यसमितिको म्याद समाप्त भएको निष्कर्ष निकाल्दै पन्ध्रौं महाधिवेशनसम्मका लागि नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने कार्यविधि पारित गरेको छ।

ADVERTISEMENT

बहुमत प्रतिनिधिहरू सहभागी विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने प्रक्रियामा अघि बढेपछि देउवा र कोइरालाले महामन्त्रीद्वयसँग संवादलाई तीव्र बनाएका हुन्। शेखर कोइरालाले सोमबार बिहानै आफू निकटका पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गरेका थिए र त्यसपछि निकटका नेताहरूले महामन्त्री विश्वप्रकाशसँग छलफल अघि बढाएका हुन्।

एक नेताका अनुसार, विशेष महाधिवेशनलाई नीति महाधिवेशन र संकल्प प्रस्ताव पारित गरेर मात्रै अघि बढाउने अवस्था बनाउन सकिनेबारे कोइरालाले छलफल गरेका थिए। त्यसपछि शेखर कोइराला पक्षको टोली देउवालाई भेट्न महाराजगञ्ज पुगेको थियो।

ADVERTISEMENT

सभापति देउवाले गगन–विश्वसँग अन्य माध्यमबाट आफ्ना कुराकानी भइरहेको जानकारी दिनु भएको र बाँकी छलफल जारी रहने बताएका छन्। शेखर कोइराला पक्षका नेता बद्री पाण्डेले दुवै पक्षसँग संवाद भइरहेको पुष्टि गर्दै भने, “हामी दिनभरि पार्टीलाई एकताबद्ध गर्ने मिलन विन्दु पहिल्याउन प्रयास गरिरहेका छौं। अहिलेसम्म ठोस प्रगति भएको छैन।”

विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल जारी छ। छलफलको निष्कर्ष अनुसार महाधिवेशनले नेतृत्व चयन गर्ने कि नीति र संकल्प प्रस्ताव पारित गर्ने भन्ने निर्णय लिनेछ।

नेतृत्व परिवर्तनको सम्भावित निर्णयका कारण विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। निर्वाचनसम्बन्धी कार्यक्रम पनि मंगलबार नै सञ्चालन हुने तयारी गरिएको छ।