काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं–४ बाट लगातार निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहसँग पराजित भए ।
निर्वाचन परिणामअनुसार रास्वपाले झण्डै दुई तिहाइ सिट हासिल गर्दा नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको छ ।
चुनावी नतिजापछि नै राजीनामाको तयारी गरेका थापालाई पार्टीभित्रका विभिन्न तहका नेताहरूले राजीनामा नदिन दबाब दिँदै आएका थिए । यद्यपि, उनले आफ्नो नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्यागेका हुन् ।
निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चयन भएका थापाको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ । उक्त बैठक शुक्रबारका लागि बोलाइएको छ ।
काँग्रेस सभापति गगन थापाले दिए राजीनामा



