काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले बुधबार राजीनामा दिएका हुन् ।
सरकारलाई कांग्रेसको समर्थन यथावत रहने गरी मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएको एक मन्त्रीले बताए । बुधबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी नभई मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
बजेट ल्याएपछि सकारको नेतृत्व छोड्ने सहमतिअनुसार नै मन्त्रीहरूले राजीनामा दिएको स्रोतले बतायो । कर्णालीमा कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेस र एमालेबीच केन्द्रमै भएको सहमतिअनुसार मन्त्रीहरू फेरबदल हुनेछन् ।










