काठमाडौं । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ।
सुरुङ तथा हेडवक्समा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।
भदौ १० गते आएको बाढीपछि २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ठूलो संख्यामा मानिस बेपत्ता भएका थिए।
शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा अवलोकन गर्दा क्षेत्र पूर्ण रूपमा डेब्रिजले भरिएको पाइएको उद्धारकर्ताले बताएका छन्।
यस्तै, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरमार्फत उत्खनन सुरु गरिएको छ। अडिट–३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले खोजी गरेका छन्।
कम्पनीका अनुसार आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिइनेछ। बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भएको बताइएको छ।






