काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा एक मिनेटभित्रै दुई शक्तिशाली भूकम्प गएपछि देशभर आपत्कालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार साँझ ६:०४ बजे सान फेलिप नजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि युमारेको दक्षिणपूर्व क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो।

ADVERTISEMENT

भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर आपत्कालीन अवस्था घोषणा गरेकी छन्। उनले मानवीय क्षति भएको पुष्टि गरे पनि मृतक तथा घाइतेको यकिन विवरण सार्वजनिक गरेकी छैनन्।

ADVERTISEMENT

भूकम्पका कारण राजधानी कराकाससहित विभिन्न क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको छ। तटीय सहरहरूमा केही भवन भत्किएका छन् भने हजारौं नागरिक ज्यान जोगाउन घरबाहिर निस्किएर सडकमा जम्मा भएका छन्।

सुरक्षा निकाय तथा उद्धार टोलीहरू देशभर परिचालन गरिएको छ। केही क्षेत्रमा ग्यास सेवा बन्द गरिएको छ भने विद्युत् आपूर्ति अवरुद्ध भएको छ। कराकास अन्तर्राष्ट्रिय विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।

ADVERTISEMENT

यद्यपि अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै जोखिम नरहेको जनाएको छ। यसअघि जारी गरिएको क्षेत्रीय सुनामी चेतावनी पनि फिर्ता लिइएको छ।

अधिकारीहरूले क्षतिको विवरण संकलन तथा उद्धार कार्यलाई तीव्र बनाइएको बताएका छन्।