काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि गएको पहिरोका कारण म्याग्दीमा मृत्यु हुनेको संख्या सात पुगेको छ। विपद्मा परी दुई जना अझै बेपत्ता छन्।

पहिरोको जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका–५ का पाउद्वार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर र किन्दुका १०६ जनालाई उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका उनीहरूलाई शिख र घारमा बनाइएको अस्थायी शिविरमा राखिएको छ।

ADVERTISEMENT

सडक यातायात सम्पर्कविच्छेद भएपछि अस्थायी शिविरमा बेनीबाट हेलिकप्टरमार्फत खाद्यान्न, लत्ताकपडा तथा आवश्यक बन्दोबस्तीका सामग्री पुर्‍याइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।

ADVERTISEMENT

बेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी छ। यसैबीच, अन्नपूर्ण गाउँपालिका–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको शव सोमबार फेला परेको छ।

पहिरोमा अन्नपूर्ण–३ की शिलकुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन र देवबहादुर पुन तथा अन्नपूर्ण–५ की जेनी पुर्जाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार पहिरोका कारण जिल्लाभर करिब २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण छ।

ADVERTISEMENT

पहिरोका कारण अवरुद्ध बेनी–बागलुङ सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्डमा पनि एकतर्फी यातायात सञ्चालन हुने गरी मर्मत गरिएको छ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनीदेखि गलेश्वरसम्मको सडकसमेत सञ्चालनमा आएको छ। तर, जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा अझै अवरुद्ध छ।

सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा विपद्बाट भएको क्षतिको विवरण संकलनमा समस्या भइरहेको प्रशासनले जनाएको छ। विवरण संकलनका लागि प्रत्येक स्थानीय तहबाट दुई–दुई जना जनशक्ति परिचालन गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ।

म्याग्दी, मुस्ताङ र बागलुङ राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएकाले इन्धन अभाव हुनसक्ने भन्दै प्रशासनले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोलपम्पलाई निर्देशन दिएको छ। मौजुदा इन्धन सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध हटाउन प्रयोग हुने सवारीसाधनलाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ।