काठमाडौं । अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो। विपद्मा परी २ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस अवधिमा बाढी, पहिरो तथा अन्य वर्षाजन्य विपद्मा फसेका ४०७ जनाको उद्धार गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
प्रहरीका अनुसार जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने कामसमेत भइरहेको छ।
यसका लागि विभिन्न सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासीबीच समन्वय गरी उद्धार तथा राहतका काम भइरहेको प्रहरीले जनाएको छ।








