काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अघि बढाइएको भन्दै इतर समूह अदालत जाने तयारीमा जुटेको हो।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यससँग सम्बन्धित विषयलाई एकतर्फी रूपमा अघि बढाउनु उचित नहुने समूहको धारणा छ।

ADVERTISEMENT

विश्वकर्माका अनुसार इतर समूहले गठन गरेको रमेश लेखक संयोजक रहेको कानून तथा विधान समितिले अदालतमा निवेदन दिनेछ। यद्यपि, अदालत जाने निश्चित मिति भने तय भइसकेको छैन। नयाँ कार्यतालिका सार्वजनिक भएकाले एक–दुई दिनभित्र समिति अदालत जाने सम्भावना रहेको उनले बताए।

ADVERTISEMENT

यसअघि इतर समूहको राष्ट्रिय भेलाका मूल आयोजक समिति संयोजक डा. शशांक कोइरालाले साउन २६ गते निर्वाचन आयोग र कांग्रेसलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरेका थिए।

ADVERTISEMENT

पत्रमा सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नआएसम्म १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका स्थगित गर्न माग गरिएको थियो। साथै, पार्टीका दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक तथा आर्थिक निर्णयसमेत यथास्थितिमा राख्न आग्रह गरिएको थियो।

इतर समूहले अदालतको पूर्ण फैसला नआएसम्म कांग्रेसको सम्पूर्ण सांगठनिक संरचना साविककै अवस्थामा राख्नुपर्ने र कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने जनाएको छ। अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनीसमेत पत्रमार्फत दिइएको थियो।

यसैबीच, सर्वोच्च अदालतले साउन २१ गते कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनरावलोकनका लागि अनुमति दिएको थियो। उक्त निर्णयपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुरुदेखि सुनुवाइ हुने अवस्थामा पुगेको छ।