काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई कोशी र बागमती प्रदेशमा पार्टी संसदीय दलका नेता हटाउन महाभारत भएको छ । नेकपासँग नयाँ गठबन्धन गरेर ओलीले पाँच प्रदेशमा सरकार हेरफेर गर्ने सहमति गरेका थिए ।
एमाले र नेकपाबीच भएको नयाँ सहमति कर्णाली प्रदेशबाट कार्यान्वयनमा आइसकेको छ । कर्णालीमा नेकपाका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन् । लुम्बिनीमा ओलीले चेतप्रसाद आचार्यलाई नै निरन्तरता दिएका छन् । तर कोशी र बागमती प्रदेशमा ओली नयाँ अनुहार ल्याउन चाहन्थे ।
एमालेमा अहिले देखिएको नयाँ समीकरणकै कारण ओलीले कोशी एमाले दलका नेता एवं मुख्यमन्त्री हिक्मतबहादुर कार्की र बागमती एमाले दलका नेता जगन्नाथ थपलियालाई हटाउन ओली असफल बनेका छन् । काशीमा कार्कीलाई पदबाट हटाएर तिलकुमार मेन्याङ्बोलाई उनी मुख्यमन्त्री बनाउन चाहन्थे । तर कार्कीले दह्रो चुनौती दिएका छन् । उनले आफूलाई दलको नेताबाट हटाउन दुई तिहाइ सांसदको मत चाहिने अडान राखेका छन् । कोशीमा ओलीसँग दुई तिहाइ सांसद छैनन् ।
आफूले नसकेपछि ओलीले एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलाई सक्रिय बनाएका छन् । पार्टी सचिवसमेत रहेका राईले विराटनगरमा प्रदेश सभा सदस्यहरूसँग छलफल गर्दै नयाँ सरकार गठनका लागि मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर सहज बनाउन आग्रह गरेका छन् । राईले कोशीमा मुख्यमन्त्री परिवर्तन गर्ने केन्द्रको नीति रहेको र त्यहीअनुसार छलफल भइरहेको बताए । कोशीमा एमालेले नै मुख्यमन्त्री पाउने सहमति छ ।

एमालेकै नेतृत्वमा सरकार हुँदा यस्तो विषम परिस्थितिमा नेतृत्व परिवर्तन गर्दा सन्देश राम्रो नजाने भन्दै मुख्यमन्त्री कार्कीले भने सरकार पुनर्गठन गर्न नहुने अडान लिएका छन् । उनी यदि मुख्यमन्त्री परिवर्तन गर्न परे पार्टीको संस्थागत निर्णय आउनु पर्ने अडानमा छन् ।
कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ (५) बमोजिम बनेको हो । संविधानको धारा १६८ (१) र २ अन्तरगत बनेको भए संसदीय दलको नेता फेर्दा सरकार विघटनमा जान्थ्यो र पर्नुगठनका लागि सहज हुन्थ्यो । तर अहिले मुख्यमन्त्री स्वयंले राजीनामा नदिएसम्म नयाँ सरकार गठनमा जटिलता थपिएको छ ।
मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गते एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदको समर्थनमा नियुक्त भएका थिए । धारा १६८ (५) अनुसार बनेको सरकारमा सांसदहरूलाई दलको ह्विप नलाग्ने भएकाले पनि कार्कीको सहमतिबिना परिवर्तन कठिन भए पनि केन्द्रको निर्देशन भन्दै सरकारको नेतृत्व परिवर्तनका लागि कोशीमा रस्साकस्सी चलिरहेको छ ।
बागमतीमा एमाले दलका नेता जेएन थपलियालाई हटाएर आफ्ना एस म्यान ल्याउन ओली चाहन्थे । सोहीअनुसार १९ सांसदलाई विद्रोह गर्न लगाए पनि अन्तिममा उनीहरूले थपलियालाई नै समर्थन गरेका छन् ।





