काठमाडौँ । नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमार्फत जनतालाई राहत दिनुको सट्टा सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको दाबी गरेका छन्।
दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार चुकेको एमालेको आरोप छ। सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको आचार्यले बताएका छन्।
यस्तै, ग्यासको सहज आपूर्ति गर्न नसकेर सरकारले नागरिकलाई सास्ती दिएको एमालेले जनाएको छ। ललितपुरका एक व्यवसायीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिई ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको आचार्यको दाबी छ।
एमालेले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरिरहेको आरोपसमेत लगाएको छ।
जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै एमालेले त्यसको भर्त्सना गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री र त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनीसमेत एमालेले दिएको छ।






