काठमाडौं । एमालेको ११औं महाधिवेशन आउन अब मात्र १५ दिन बाँकी छ । मंसिर २७ देखि २९ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदैछ । अबका दुई साता नेपाली राजनीति एमालेको महाधिवेशन वरिपरि केन्द्रित हुनेछ । अघिल्लो दशौंभन्दा अहिलेको महाधिवेशन एमालेका लागि बढी महत्वपूर्ण मानिन्छ ।
दशौं महािधवेशनमा एमालेले प्यानल नबनाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो । तर त्यसको अवज्ञा गर्दै अध्यक्षमा केपी ओलीसँग भीम रावल भिडे । अन्ततः त्यही निहुँमा रावललाई एमालेबाट निकालियो । त्यसअघि दशौं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका माधवकुमार नेपाल पनि एमालेबाट निकालिए । त्यस्तै, ओलीसँग अध्यक्षमा भिडेका झलनाथ खनाल पनि अहिले एमालेमा छैनन् ।
ओलीसँग चुनावमा जो जो प्रतिस्पर्धा गरेका थिए, ती सबै नेता अहिले एमालेमा छैनन् । एमालेमा अहिले ओलीकै जति राजनीतिक इतिहास भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । उनको घोषणासँगै अहिले एमाले दुई चिरामा विभाजित भएको छ । एमालेले मंसिर १३ गते (शनिबार) देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । करिब साढे दुई हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् ।
अध्यक्षमा उठ्ने घोषणा गरेसँगै अहिले पोखरेललाई पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीबाट बिदा भएर जान धम्की दिएका छन् । पोखरेल एमालेको जग राख्ने नेतामध्ये एक मानिन्छन् । बस्नेतले यस्तो धम्की दिएपछि एमालेमा अहिले हलचल मच्चिएको छ । पोखरेलले एमाले बनाउँदा बस्नेत पार्टीका साधारण सदस्यसमेत थिएनन् ।
एउटा शीर्ष नेतालाई ‘ओलीसँग अध्यक्षमा भिड्नु भन्दा बिदा लिन वेश’ भनेर बस्नेतले भनेपछि अधिकांश एमाले नेता कार्यकर्ता आक्रोशित बनेका छन् । बस्नेतको यस्तो धम्कीले पार्टी भनेकै केपी ओली हो, त्यसबाहेक अरु केही होइन भन्ने अर्थ लाग्न थालेको छ । कतिपयले त एमाले अब पार्टी नभएर केटरिङ पार्टी बनिसकेको झलक दिएको भन्ने टिप्पणीसमेत गरेका छन् ।
चुनावमा प्रतिस्पर्धा हुनु द्वन्द्व होइन, पार्टीको जीवन सञ्चार हो । तर पोखरेलको अध्यक्षमा चुनाव लड्ने घोषणाले ओली–बस्नेत क्याम्प भयभित देखिएको छ ।








