काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि देशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। उनको समर्थनमा रहेको अवामी लिगले नोभेम्बर २७ र २८ मा देशव्यापी दुईदिने बन्द आह्वान गरेको छ।

पार्टीले सरकारसमक्ष आठबुँदे माग अघि सार्दै आफ्नो दलमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने माग गरेको छ। हसिनाको सम्भावित फिर्ती र बढ्दो राजनीतिक तनावलाई ध्यानमा राख्दै बंगलादेश सरकारले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

ADVERTISEMENT

अवामी लिगका प्रवक्ता सैयद मोजाम्मिल अलीले केही दिनअघि जारी गरेको विज्ञप्तिमा ७९ वर्षीया हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने योजना रहेको बताएका थिए। बंगलादेशमा सन् १९७१ मा पाकिस्तानविरुद्धको मुक्ति युद्धमा विजय प्राप्त गरेको सम्झनामा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ।

ADVERTISEMENT

हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि हेलिकप्टरमार्फत देश छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्। बंगलादेशले उनलाई स्वदेश फर्काउन पटकपटक सुपुर्दगी माग गरे पनि भारतले अहिलेसम्म त्यसबारे अन्तिम निर्णय गरेको छैन।

यसैबीच, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बुधबार यस विषयमा प्रतिक्रिया दिँदै बंगलादेशको सुपुर्दगी अनुरोधमाथि भारतले आफ्नै स्थापित प्रक्रियाअनुसार विचार गरिरहेको बताएका छन्।

उनले स्वेच्छाले आफ्नो देश फर्किन चाहने नागरिकलाई आवश्यक पर्ने यात्रा कागजातको विषय सुपुर्दगी अनुरोधभन्दा फरक रहेको पनि स्पष्ट पारेका छन्। अर्थात्, हसिनाको स्वेच्छिक फिर्ती र बंगलादेशले गरेको सुपुर्दगी मागलाई भारतले दुई अलग विषयका रूपमा लिएको छ।

तर हसिनाको स्वदेश फिर्ती सहज देखिएको छैन। बंगलादेश सरकारले उनलाई सामान्य प्रक्रियाबाट फर्किन दिन नसकिने र स्वदेश आए पक्राउ गरिने बताउँदै आएको छ। सरकारले भारतसँगको सुपुर्दगी प्रक्रियामार्फत मात्रै उनलाई फिर्ता ल्याउन सकिने अडान राखेको छ।

यसअघि सन् २०२५ नोभेम्बर १७ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले विद्यार्थी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार सन् २०२४ जुलाई १५ देखि अगस्ट ५ सम्म भएको आन्दोलन र सरकारी दमनका क्रममा करिब १ हजार ४०० जनाको ज्यान गएको अनुमान छ। आन्दोलनका क्रममा हजारौँ व्यक्ति घाइते भएका थिए।

हसिनाको प्रस्तावित फिर्ती, अवामी लिगको बन्द र भारतसँगको सुपुर्दगी विवादले बंगलादेशको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको छ।