काठमाडौं । एमालेले प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा निवेदन दिएको छ । दल दर्ताका लागि केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारी र केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्य मंगलबार बिहान आयोग पुगेका थिए ।

एमालेले दल दर्ताका लागि निवेदन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताए । ‘एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छ र त्यसैका लागि दृढतापूर्वक लागिरहेको छ । तर, हामी संविधान मान्ने पार्टी भएकाले निर्वाचन आयोगमा दल दर्ता अधावधिक गराएका छौं । फागुन २१ मा चुनाव नभए पनि पछि कुनै दिन चुनाव हुन सक्छ त्यसैले दल दर्ता गरायौंं,’ उनले भने ।

ADVERTISEMENT

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा गराउने चुनावमा भाग लिन दल दर्ता हुने बताएका थिए । ओलीले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै एमालेले आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो । फागुनमा हुने निर्वाचनका लागि सोमबारसम्म ६४ दल दर्ता भइसकेका छन् ।

ADVERTISEMENT

कांग्रेसले फागुनमा हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै एमाले दबाबमा परेको थियो । प्रधानमन्त्री कार्कीले समेत सार्वजनिक रूपमै एमालेले चुनावबाट भागेर कहाँ जान्छ भनेर प्रश्न गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले केही दिनभित्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग चुनावबारे छलफल गर्ने भएकी छन् ।