काठमाडौँ। प्रभु बैंकको तत्कालीन प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तलाई सीआईबीले पक्राउ गरेको छ। पन्तलाई पक्राउ गरिएको घटनाबारे पृष्टि गर्दै सीआईबीले उनलाई बैंकिक कसुर अन्तर्गतको अनुसन्धानका क्रममा पक्राउ गरिएको बताएको छ।
गत मंसिरमा बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा सीआईबीले तत्कालीन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणीराम पोखरेलसहित बैंकका केही उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता रश्मि पन्त सम्पर्कविहीन रहेकी थिइन्। अहिले सीआईबीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
उनलाई तत्कालीन सीईओ अशोक शेरचनसँगको मिलेमतोमा बैंकको कर्जा स्वीकृति प्रक्रिया विपरीत काम गरेको, कमसल धितोलाई बढी मूल्यांकन गराउन भूमिका खेलेको तथा बैंकको संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थअनुसार निर्णयहरू अघि बढाएको आरोप लगाएको छ।
रश्मि पन्त को हुन्?
रश्मि पन्त सन् २०१५ मा प्रभु बैंकमा व्यवसाय योजना अधिकृतका रूपमा आबद्ध भएकी थिइन्। त्यसपछि उनले क्रमिक रूपमा विभिन्न जिम्मेवारी सम्हाल्दै सन् २०२० मा प्रमुख सञ्चालन अधिकृत (सीओओ) को जिम्मेवारी पाएकी थिइन्। बैंकमा प्रवेश गरेको करिब नौ वर्षको अवधिमा उनले १० पटक पदोन्नति प्राप्त गरेकी थिइन्। बैंक स्रोतका अनुसार उनी छोटो समयमै व्यवस्थापन तहमा प्रभावशाली भूमिका हासिल गर्न सफल भएकी थिइन्।









