काठमाडौं। प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ को अवसर पारेर देशव्यापी रूपमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सुरु गरिएको यस अभियानअन्तर्गत बैंकले विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी प्रशिक्षणमूलक कार्यक्रमहरू अघि बढाएको हो।

यसैक्रममा बैंकको बौद्ध शाखाले चैत्र २ गते काठमाडौंस्थित होटल अनुत्तरामा एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सूक्ष्म, साना तथा मझौला उद्यम (MSME) क्षेत्रमा संलग्न ४७ जना व्यवसायीहरूको सहभागिता रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा सहभागी व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात, ऋण प्राप्तिका मापदण्ड तथा वित्तीय अनुशासनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, उद्यम सञ्चालनका क्रममा वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि प्रशिक्षण दिइएको थियो।

बैंकका प्रतिनिधिहरूले वित्तीय पहुँच अभिवृद्धि गरी उद्यमशीलतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार वित्तीय साक्षरताले व्यवसायीहरूलाई सही निर्णय लिन सहयोग पुर्‍याउने मात्र होइन, दीर्घकालीन आर्थिक स्थायित्वका लागि समेत महत्वपूर्ण भूमिका खेल्नेछ।

ADVERTISEMENT

 

प्रभु बैंकले देशभर रहेका आफ्ना शाखा सञ्जालमार्फत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। हाल बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्। बैंकले करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


बैंकका अनुसार ‘ग्लोबल मनि विक’ अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूले विशेषगरी युवा, विद्यार्थी तथा उद्यमी वर्गमा वित्तीय चेतना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै देशका विभिन्न स्थानमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।