काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई पर्सा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा मंगलबार न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई २ लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राख्ने आदेश दिएको हो ।
शर्माविरुद्ध सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा अञ्जली इन्टरनेशनलकी प्रोप्राइटर निर्मला देवीले मुद्दा दर्ता गराएकी थिइन् । व्यवसाय विस्तारका लागि कर्जा स्वीकृत गराए पनि धितो राखिसकेपछि स्वीकृत कर्जा उपलब्ध नगराएको भन्दै उनले शर्मासहित सनराइज बैंकका अन्य चार जनालाई प्रतिवादी बनाएकी थिइन् ।
निर्मला देवीले वीरगञ्ज महानगरपालिका–१६ मा भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएकी थिइन् । व्यवसाय विस्तारका लागि २०८० वैशाख ५ गते ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
कर्जा प्रक्रियाका क्रममा उनका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बारा जिल्लाको साविक अमाव गाविस–५ स्थित कित्ता नम्बर २९९ को ६ धुर जग्गा ८९ लाख रुपैयाँ बराबरको मूल्यांकनमा धितोबन्धक राखिएको थियो ।
तर धितो पारित गरी कर्जा स्वीकृत भए पनि रकम निर्मला वा अञ्जली इन्टरनेशनलको खातामा जम्मा नभएको जाहेरीमा उल्लेख छ । रकम निकासा गरिदिन पटक–पटक आग्रह गर्दा आश्वासन दिएर प्रतिवादीहरू सम्पर्कविहीन भएको र मिलेमतोमा रकम व्यक्तिगत लाभमा प्रयोग गरेको आरोप जाहेरीमा लगाइएको छ ।
अदालतमा बयानका क्रममा शर्माले आफूले जाहेरवालीलाई नचिनेको तथा कर्जा दिने वा धितो राख्ने सम्बन्धमा कुनै निर्णय नगरेको दाबी गरेका थिए । उनले आफूविरुद्धको ठगी तथा आपराधिक विश्वासघातको आरोप अस्वीकार गरेका छन् ।
तर जाहेरी दरखास्त, घटना विवरण कागज, मालपोत कार्यालय कलैयाको धितोबन्धक लिखत तथा बैंकबाट प्राप्त पत्रलगायत मिसिलमा संलग्न प्रमाणका आधारमा तत्कालै शर्मालाई निर्दोष भन्न सकिने अवस्था नरहेको अदालतले ठहर गरेको छ ।
थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई २ लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राख्ने आदेश अदालतले दिएको हो । धरौटी नबुझाए शर्मालाई थुनामा पठाउने आदेशसमेत भएको छ ।







