काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट लेखनको औपचारिक प्रक्रिया सुरु गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय बजेट लेखन समिति गठन गरेका छन् ।

समितिका सदस्यहरूमा डा. सुमन दाहाल, डा. धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पोखरेल छन्। दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, शर्मा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा र पोखरेल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख हुन् ।

ADVERTISEMENT

बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त एवं प्राथमिकता निर्धारण गर्न अर्थ मन्त्रालयले उच्चस्तरीय बजेट लेखन समिति बनाएको हो । यो समिति वर्षेनी बजेट निर्माण अगाडि बनाउनुपर्ने नियमित प्रक्रिया पनि हो ।

संघीय संसदमा प्रस्तुत गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा अर्थमन्त्रीले सदनमा पेस गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा लेखन कार्यसमेत यसै टोलीले सम्पन्न गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

ADVERTISEMENT