काठमाडौं । नेपाली कांग्रेस विभाजनको दिशामा अघि बढेको छ । कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेपछि पार्टी फुटको दिशामा अघि बढेको हो ।

बिपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।

ADVERTISEMENT

सिंहले साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको घोषणा गरे । ‘मीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’

नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए । तर उनले आफूहरु हेपिएको भन्दै अलग हुने भनाइ राखे ।

ADVERTISEMENT

कांग्रेस निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापाले नचाहेसम्म एकता नहुने बताए । उनले आफूहरू अन्तिम समयसम्म एकताकै लागि बस्ने, तर सिद्धान्तमा सम्झौता नगर्ने प्रस्ट पारे । युवालाई अघि बढाएर भए पनि नयाँ पार्टी खोल्ने उनले संकेत गरे ।

नेता शेखर कोइरालाले कांग्रेस अहिले हुकुमी शासनमा चलेको आरोप लगाउँदै बिपीको समाजवाद छाडेको भन्दै आक्रोश पोखे । उनले एकताबद्ध कांग्रेस नै अहिलेको आवश्यकता रहेको बताए ।

नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई एकढिक्का बनाउने दायित्व सभापति गगन थापाको हातमा रहेको बताए ।