काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका वरिष्ठ नेता अर्जुननरसिंह केसी लाई राजनेताको भूमिकामा उक्लिन सुझाव दिएका छन्।कास्कीको पोखरा मा शुक्रबार आयोजित गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताभन्दा माथि उठेर राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने बताएका हुन्।

केसीले संसदीय दलको नेता बन्ने आकांक्षा राखिरहेको सन्दर्भमा शर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्। “उहाँ (केसी) ले कांग्रेस संसदीय दलको नेता बन्न चाहनुहुँदा हामीले ‘हुन्न’ भन्न अप्ठ्यारो हुन्छ नै,” उनले भने, “तर हाम्रो अपेक्षा उहाँले नेताको पदभन्दा माथि उठेर राजनेता बन्ने मार्ग अपनाउनु हो।”

ADVERTISEMENT

शर्माले केसीको अनुभव र योगदानको प्रशंसा गर्दै उनलाई सबै दलका लागि साझा अभिभावकका रूपमा अघि बढ्न आग्रह गरे। “२०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुहुन्छ। उहाँ सबैभन्दा ज्येष्ठ र अनुभवी हुनुहुन्छ,” उनले भने।

ADVERTISEMENT

उनले संसदीय दलको नेता चयनमा सर्वसम्मति कायम गर्न केसीले सहजीकरण गर्ने अपेक्षा पनि व्यक्त गरे।यस्तै, सर्वसम्मति हुन नसके नयाँ वर्षपछि निर्वाचनमार्फत संसदीय दलको नेतृत्व चयन हुने जानकारी समेत उनले दिए।

 

ADVERTISEMENT