काठमाडौं । नेपालको जलविद्युत् उत्पादन क्षमता र चिसो हावापानीलाई उपयोग गरेर कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सकिने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा एआई प्रविधिको प्रयोग र माग विस्तार भइरहेका बेला नेपालले आफ्नो ऊर्जा तथा भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।

डिजिटल मिडिया फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय सत्रमा सहभागी विज्ञहरूले नेपालमा एआई पूर्वाधार विकास र लगानीको सम्भावना रहेको बताएका हुन्।

ADVERTISEMENT

‘द न्यु एआई ल्यान्डस्केप : ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ विषयक सत्रमा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धरले नेपालको जलविद्युत् सम्भावनालाई एआई पूर्वाधार विकाससँग जोड्न सकिने बताए।

ADVERTISEMENT

उनका अनुसार एआई डाटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा विद्युत् आवश्यक पर्छ। नेपालमा जलविद्युत् उत्पादनको सम्भावना भएकाले त्यसलाई डाटा सेन्टर सञ्चालनमा उपयोग गर्न सकिन्छ। तर, वर्षभरि अविच्छिन्न र विश्वसनीय विद्युत् आपूर्ति सुनिश्चित गर्नु मुख्य चुनौती हुने उनले स्पष्ट पारे।

‘टियर–१ वा टियर–२ स्तरको डाटा सेन्टर सञ्चालन गर्न ९९.९९९ प्रतिशतसम्म सेवा उपलब्धता आवश्यक हुन्छ,’ उनले भने, ‘नेपालमा १०० मेगावाटको जलविद्युत् आयोजना भए पनि हिउँदमा उत्पादन घटेर १० मेगावाटमा सीमित हुन्छ भने वर्षभरि सञ्चालन हुने डाटा सेन्टरको क्षमता पनि त्यहीअनुसार निर्धारण गर्नुपर्छ।’

मानन्धरले विद्युत् उत्पादन क्षमता मात्रै डाटा सेन्टर विकासका लागि पर्याप्त नहुने बताए। उनका अनुसार विद्युत् आपूर्तिको निरन्तरता र विश्वसनीयता सुनिश्चित नगरी ठूलो क्षमताको एआई डाटा सेन्टर सञ्चालन गर्न कठिन हुन्छ। जलविद्युत् उत्पादनमा हुने मौसमी उतारचढाव व्यवस्थापन गर्नु यसका लागि महत्वपूर्ण पक्ष हो।

उनले विश्वविद्यालय तथा कलेजका विद्यार्थीले समेत निःशुल्क पहुँच पाउन सक्ने गरी सरकारले एआई डाटा सेन्टर स्थापना गर्नुपर्ने प्रस्ताव गरे। यस्तो पूर्वाधारले अनुसन्धान, प्रविधि विकास र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने उनको भनाइ छ।

त्यस्तै, सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बलले एआई पूर्वाधार विकासका लागि विद्युत्, डाटा र डिजिटल पूर्वाधार महत्वपूर्ण हुने बताइन्। विकासशील देशहरूले एक्लै ठूलो लगानी गरेर प्रतिस्पर्धा गर्नुभन्दा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत पूर्वाधार विकास गर्न सक्ने उनको सुझाव थियो।

उनका अनुसार एआई प्रविधिको विस्तारसँगै डाटा सेन्टरको विद्युत् माग पनि तीव्र रूपमा बढिरहेको छ। त्यसैले नेपालले आफ्नो ऊर्जा सम्भावना उपयोग गर्नुका साथै क्षेत्रीय सहकार्य र प्रविधि साझेदारीलाई प्राथमिकता दिन आवश्यक छ।

विज्ञहरूले एआई डाटा सेन्टरलाई प्रविधि पूर्वाधारमा मात्रै सीमित नराखी नेपालको जलविद्युत् उपयोग, विदेशी लगानी आकर्षण, अनुसन्धान तथा डिजिटल अर्थतन्त्र विस्तारसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।