काठमाडौँ । तिहार मनाउन गाउँघर फर्किने र घुमघामको योजना बनाउनेहरूका लागि यो साताको मौसम अनुकूल रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले तिहारको समयमा ठूलो वर्षा गराउने प्रणाली विकसित हुने सम्भावना नरहेको जनाएको छ।
विभागले शुक्रबार सार्वजनिक गरेको तिहार विशेष मौसम बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
विभागकी मौसमविद् निष्ठा निरौलाका अनुसार आगामी साता ठूलो पानी पार्ने प्रणाली विकसित हुने संकेत देखिएको छैन। त्यसैले तिहार अवधिमा देशका कुनै पनि क्षेत्रमा ठूलो वर्षाको सम्भावना नरहेको उनले बताएकी छन्।
तराईका थोरै स्थानमा भने बिहानपख हुस्सु लाग्न सक्छ। आगामी बिहीबारसम्म तराईका १० देखि ३० प्रतिशत भूभागमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। तराई क्षेत्रमा साताभर वर्षाको सम्भावना छैन।
पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना न्यून छ। आगामी बिहीबारसम्म पहाडी भेगको करिब १० प्रतिशत भूभागमा मात्रै हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। अर्थात्, देशका करिब ९० प्रतिशत पहाडी भूभागमा वर्षा नहुने देखिएको छ।
हिमाली क्षेत्रमा भने प्रदेशअनुसार मौसम फरक रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा शनिबारसम्म केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्छ। आइतबारदेखि बिहीबारसम्म यी प्रदेशका एक–दुई स्थानमा मात्रै हल्का हिमपात वा वर्षाको सम्भावना छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आगामी बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताएकी छन्।










