काठमाडौं । आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृतको घडा, शङ्ख, चक्र र जडीबुटीसहित प्रकट भएका थिए। सोही घटनाको स्मरणमा धनवन्तरी जयन्ती मनाउने गरिएको हो।
‘आयु’ र ‘वेद’ शब्द मिलेर बनेको आयुर्वेदको अर्थ जीवनसम्बन्धी ज्ञान भन्ने हुन्छ। प्राचीन वैदिक चिकित्सा पद्धतिका रूपमा परिचित आयुर्वेदमा विभिन्न जडीबुटी तथा प्राकृतिक स्रोतको प्रयोग गरी रोगको उपचार र स्वास्थ्य संरक्षण गर्ने परम्परा रहँदै आएको छ। यस दिन आयुर्वेदसँग सम्बन्धित चिकित्सक, विद्यार्थी तथा संस्थाहरूले विशेष महत्त्वका साथ विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले धनवन्तरी जयन्तीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताए। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले यो पर्व यमपञ्चकसँग पनि जोडिएको उल्लेख गरे।
उनका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने पर्वलाई यमपञ्चक भनिन्छ। धार्मिक कथनअनुसार यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पाँच दिनसम्म उनको घरमा बसेको प्रसङ्गसँग यो पर्वको नाम जोडिएको छ।
ढकालले यमराजले आफ्नो नियमित कामकाज छाडेर बहिनी यमुनासँग पाँच दिन बिताएको धार्मिक कथाका आधारमा यमपञ्चक नाम रहन गएको बताए।
यमपञ्चकको पहिलो दिन काग तिहारका रूपमा मनाइने र सोही दिन धनवन्तरी जयन्ती पनि पर्ने उनले जानकारी दिए। पछिल्लो समय यस अवसरमा धनतेरस मनाउने चलनसमेत बढ्दै गएको उनको भनाइ छ।
धनवन्तरीको उत्पत्तिबारे धार्मिक मान्यता उल्लेख गर्दै ढकालले समुद्र मन्थनका क्रममा देवता र दैत्यले अमृत प्राप्तिका लागि प्रयास गर्दा अन्त्यमा भगवान् धनवन्तरी अमृतको घडा लिएर प्रकट भएको बताए। त्रयोदशी तिथिमा भएको उक्त प्रकटलाई नै धनवन्तरी जयन्तीका रूपमा स्मरण गरिने उनले उल्लेख गरे।
उनका अनुसार आयुर्वेदका प्रवर्तकका रूपमा भगवान् धनवन्तरीलाई अमृत र आयुर्वेदसँग जोडेर महत्त्व दिइएको छ। चरक र सुश्रुतलगायतका प्राचीन आयुर्वेदाचार्यहरूले पनि आयुर्वेदको विकास र अभ्यासमा योगदान दिएका छन्।
मानव जीवनको रक्षा, रोगको उपचार र स्वास्थ्य स










