काठमाडौं, असोज १४ । बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको भारित औसत ब्याजदर साउनको मध्यमा ३.१५ प्रतिशतमा झरेको छ।
असारको मध्यमा यस्तो ब्याजदर ३.२१ प्रतिशत रहेको थियो। साउनको मध्यमा कुल निक्षेप ७२ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगे पनि भदौको मध्यसम्म आइपुग्दा केही घटेर करिब ७२ खर्ब ४२ अर्ब रुपैयाँमा सीमित भएको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप संरचनाअनुसार बचत निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ। असारको मध्यमा २.०३ प्रतिशत रहेको यस्तो ब्याजदर साउनको मध्यमा २.०२ प्रतिशत र भदौको मध्यमा २.०१ प्रतिशतमा झरेको छ।
मुद्दती निक्षेपको औसत ब्याजदर पनि घट्दो क्रममा छ। असारको मध्यमा ४.९५ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ४.६७ प्रतिशत र भदौमा ४.७१ प्रतिशत कायम भएको छ।
मुद्दती निक्षेपअन्तर्गत ३ देखि ६ महिनासम्मको निक्षेपमा ब्याजदर असारमा ३.२५ प्रतिशत रहेकामा साउनमा २.९७ प्रतिशत र भदौमा २.९५ प्रतिशतमा झरेको छ।
त्यस्तै, ६ देखि १२ महिनाको निक्षेपमा ब्याजदर असारको ३.३५ प्रतिशतबाट साउनमा ३.१८ प्रतिशत र भदौमा ३.१३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।
एकदेखि दुई वर्ष अवधिको मुद्दती निक्षेपको औसत ब्याजदर असारमा ४.०५ प्रतिशत रहेकामा साउनमा ३.८८ प्रतिशत र भदौमा ३.८२ प्रतिशतमा सीमित भएको छ।
दुई वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा पनि ब्याजदर घटेको छ। असारमा ७.२९ प्रतिशत रहेको यस्तो ब्याजदर साउनमा ७.५५ प्रतिशत र भदौमा ७.३९ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकहरूको कल निक्षेपको ब्याजदर पनि घटेको छ। असारको मध्यमा ०.५७ प्रतिशत रहेको कल निक्षेपको भारित औसत ब्याजदर साउनमा ०.४९ प्रतिशत र भदौमा पनि ०.४९ प्रतिशत कायम भएको छ।
यस अवधिमा ‘अन्य’ प्रकारका ब्याज लाग्ने निक्षेपको औसत ब्याजदर पनि असारको २.०५ प्रतिशतबाट साउनमा १.९३ प्रतिशत हुँदै भदौमा १.१२ प्रतिशतमा झरेको छ।
भदौको मध्यसम्म वाणिज्य बैंकहरूको कुल निक्षेपमध्ये ३४ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी बचत निक्षेप रहेको छ। मुद्दती निक्षेप करिब २५ खर्ब ४२ अर्ब, कल निक्षेप करिब ६ खर्ब २० अर्ब र ब्याज नलाग्ने निक्षेप करिब ५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
समग्रमा बैंकिङ क्षेत्रको कुल निक्षेपमा पछिल्लो समय केही संकुचन आएको छ। असारको मध्यमा ७० खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल निक्षेप साउनको मध्यमा बढेर ७२ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। तर भदौको मध्यमा वाणिज्य बैंकहरूको कुल निक्षेप घटेर ७२ खर्ब ४१ अर्ब ९० करोड रुपैयाँमा कायम भएको छ। राष्ट्र बैंकका अनुसार बचत, मुद्दती र कल निक्षेपसहित अधिकांश निक्षेपको ब्याजदर पछिल्ला महिनामा घट्दो क्रममा छ।








