काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूका लागि तोकेको खराब कर्जा सम्बन्धी व्यवस्था अनुसार कुनै पनि बैंक तथा फाइनान्स कम्पनीमा अधिकतम खराब कर्जा पाँच प्रतिशतभन्दा नाघ्नु हुँदैन। यदि नाघेको छ भने त्यस्तो संस्थालाई वित्तीय स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। त्यही कारण खराब कर्जालाई निर्धारित सीमासम्म नल्याउँदासम्म राष्ट्र बैंकले त्यस्तो संस्थालाई निक्षेप तथा कर्जा प्रवाहमा निश्चित सीमा तोकिदिने, कर्मचारीहरूको बढुवा तथा सेवा–सुविधा थप गर्न रोक लगाउने, नयाँ शाखा विस्तारमा तत्कालका लागि रोक लगाउनेसम्मको कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।
यही व्यवस्थाको बाबजुद पनि फाइनान्स कम्पनीहरूमा भने राष्ट्र बैंकले तोकिदिएको अधिकतम खराब कर्जाको सीमाभन्दा दुई गुणाभन्दा बढी कर्जा खराब देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको वैशाख मसान्तसम्म फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ३५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १३ अर्ब २१ करोड ६३ लाख आठ हजार रुपैयाँ बराबरको कर्जा खराब देखिएको छ। प्रतिशतका आधारमा यो कर्जा कुल कर्जा प्रवाहको १३ दशमलव ०४ प्रतिशत हिस्सा हो।
गत आवको सोही अवधिमा पनि फाइनान्स कम्पनीहरूले एक खर्ब २४ अर्ब ३० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ६५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्रतिशतका दरले हुन आउने १० अर्ब २६ करोड तीन लाख २८ हजार रुपैयाँ बराबरको कर्जा खराब देखिएको थियो।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूमा अहिले न्यूनतम दुईदेखि ५९ प्रतिशतसम्म कर्जा खराब देखिएको छ। जसमध्ये सबैभन्दा कम आईसीएफसी फाइनान्समा पछिल्लो समय २ दशमलव ६८ प्रतिशत कर्जा खराब देखिँदा जानकी फाइनान्समा ५९ दशमलव १२ प्रतिशत कर्जा खराब देखिएको छ। गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः २ दशमलव ०५ र ४४ दशमलव ४१ प्रतिशत रहेको थियो।
यी बाहेक मञ्जुश्री, मल्टिपर्पस, गुडविल, नेपाल र गोर्खाज फाइनान्समा चालु आवको पछिल्लो अवधिमा क्रमशः ३ दशमलव ९९, ७ दशमलव ४४, ९ दशमलव ८६, ४ दशमलव ३१ र १४ दशमलव १७ प्रतिशत कर्जा खराब देखिएको छ। गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ४ दशमलव २०, ५ दशमलव ४६, ८ दशमलव ०७, ३ दशमलव १५ र ४ दशमलव २८ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार सेन्ट्रल, श्री इन्भेष्टमेन्ट, प्रोग्रेसिभ बेष्ट र गुह्येश्वरी मर्चेन्ट फाइनान्समा पनि चालु आवको पछिल्लो अवधिमा क्रमशः ४ दशमलव ०२, ५ दशमलव ५८, १३ दशमलव ०८ र ६ दशमलव ३७ प्रतिशत कर्जा खराब देखिएको छ। गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ३ दशमलव ७५, ७ दशमलव १५, ११ दशमलव ४९ र ६ दशमलव ९३ प्रतिशत रहेको थियो।
यसैगरी जानकी, रिलायन्स र समृद्धि फाइनान्समा पनि चालु आवको पछिल्लो अवधिमा क्रमशः ५९ दशमलव १२, १० दशमलव ३४ र ८ दशमलव ०९ प्रतिशत कर्जा खराब देखिएको थियो। गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा क्रमशः ४४ दशमलव ४१, १६ दशमलव ०८ र १६ दशमलव ४२ प्रतिशत कर्जा खराब देखिएको थियो।
फाइनान्स कम्पनीहरूमा रहेको खराब कर्जा (प्रतिशतमा)






