काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकको बाह्य क्षेत्र थप सबल बनेको छ। रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति उल्लेखनीय रूपमा सुधार हुँदा अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक देखिएका छन्।
प्रतिवेदनअनुसार २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ।
देशको कुल विदेशी विनिमय सञ्चिति बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब १९ करोड बराबर रहेको राष्ट्र बैंकले जनाएको छ। हालको सञ्चिति १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।
बाह्य क्षेत्रका सूचकहरू पनि बलियो अवस्थामा छन्। समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा पुगेको छ।
रेमिट्यान्स आप्रवाहमा पनि उच्च वृद्धि देखिएको छ। समीक्षा अवधिमा रेमिट्यान्स नेपाली रुपैयाँमा ४१.२ प्रतिशतले र अमेरिकी डलरमा ३३ प्रतिशतले बढेको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक व्यापारतर्फ निर्यात र आयात दुवै बढेका छन्। प्रतिवेदनअनुसार निर्यात १४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.८ प्रतिशतले बढेको छ।
सरकारी वित्ततर्फ नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा राजस्व परिचालन ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
मौद्रिक क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धि १५.२ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ९.४ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १६ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको छ।
ब्याजदरमा भने नरम अवस्था कायम देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम रहेको छ।
त्यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार रेमिट्यान्सको उच्च वृद्धि, बलियो विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत र कम मुद्रास्फीतिका कारण अर्थतन्त्रका बाह्य सूचकहरू थप सुदृढ बन्दै गएका छन्।








