काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासंघले  पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो तीन वर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेको छ। कार्यक्रममा उपस्थित पत्रकारहरूलाई धन्यवाद व्यक्त गर्दै महासंघले सञ्चार क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।


ADVERTISEMENT

महासंघले यो कार्यक्रमलाई धन्यवाद ज्ञापन मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच देशको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो कार्यकाल सुरु गर्दा देशको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे। कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा तथा बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको उनले बताए।

ADVERTISEMENT

यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित पाँच मुख्य प्राथमिकता अघि सारिएको उनले स्पष्ट पारे।

ती प्राथमिकतामा आर्थिक संकट समाधान, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना तथा व्यवसायीहरूको मनोबल उच्च बनाउने विषय समावेश थिए।

महासंघका अनुसार तीन वर्षको अवधिमा यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिएको छ। नीतिगत सुधारमा सक्रिय भूमिका खेल्दै महासंघले परम्परागत मागकर्ताको भूमिकाबाट अघि बढेर नीति निर्माण प्रक्रियामै सहभागिता जनाएको दाबी गरिएको छ।

यस क्रममा राष्ट्रिय आर्थिक बहस आयोजना गरी सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको थियो। यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरिएको महासंघले जनाएको छ।

त्यसैगरी, उद्योग, व्यापार र कलकारखानालाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गरिएको र हालै गठन भएको सरकारको पहिलो क्याबिनेट बैठकले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको पनि उल्लेख गरिएको छ।

महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौता (बीआईए) को मस्यौदा तयार भई विभिन्न मुलुकसँग सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिइयो। यसले लगानी वातावरण थप सुदृढ हुने विश्वास गरिएको छ।

राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गर्नु महासंघको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। यस क्रममा लगानीमैत्री वातावरण कायम राख्न विभिन्न नीतिगत प्रस्तावहरू परिमार्जन गरिएका छन्।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि सरकार,नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच मध्यस्थता गरिएको पनि महासंघले जनाएको छ।

आन्तरिक लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँ पूँजीसहित ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ, जसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ।

अन्तर्राष्ट्रिय स्तरमा पनि भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार र बेलायतलगायत मुलुकमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको महासंघले जनाएको छ।

संस्थागत सुधारतर्फ महासंघको विधान सर्वसम्मत रूपमा संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई पारदर्शी, समावेशी र प्रतिस्पर्धी बनाइएको छ। अध्यक्षको प्रत्यक्ष निर्वाचन, महिला सहभागिता वृद्धि तथा जिल्ला–नगर प्रतिनिधित्व सुदृढीकरणजस्ता सुधार लागू गरिएको उल्लेख गरिएको छ।

महासंघले निजी क्षेत्रलाई केवल दबाब समूह नभई आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ। यसै क्रममा ‘निजी क्षेत्रको अवस्था’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको, जसले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई तथ्यगत रूपमा प्रस्तुत गरेको जनाइएको छ।

कार्यक्रममा पत्रकारहरूको भूमिकाको उच्च प्रशंसा गर्दै महासंघले नीतिगत बहस, तथ्यमा आधारित विश्लेषण तथा रचनात्मक सुझावमार्फत सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ।

महासंघले आगामी दिनमा पनि सञ्चार क्षेत्रसँग नियमित संवाद, सहकार्य र पारदर्शितामार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य लिएको जनाएको छ।अन्त्यमा, तीन वर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै महासंघले भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।