काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका नेम्बाङ र राई बुधबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।
यसअघि कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भइसकेका छन्।








