सुर्खेत।पछिल्ला केही वर्षयता सुर्खेतको आकाश प्याराग्लाइडिङका कारण रङ्गिन बन्दै गएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर केन्द्रित यो गतिविधिले सहरलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न थालेको छ।

चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू–दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ। खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन चाहने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ।

ADVERTISEMENT

शिक्षण पेसामा आबद्ध रमेश विष्टका अनुसार छोटो समयमै सुर्खेतको प्याराग्लाइडिङ गतिविधिले विभिन्न वर्गका मानिसलाई आकर्षित गरेको छ। उनका अनुसार यो खेल अब सीमित समुदायमा मात्र सीमित नरही सर्वसाधारणको पहुँचमा पुगेको छ।

ADVERTISEMENT

प्याराग्लाइडिङ विस्तारसँगै यसको दायरा पनि फराकिलो बन्दै गएको छ। व्यवसायी, विद्यार्थी, शिक्षकदेखि डाक्टर र इन्जिनियरसम्म यसमा सहभागी हुन थालेका छन्। व्यवस्थापनमा सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यसप्रति विश्वास बढाएको छ।

वीरेन्द्रनगर–१४ स्थित बयलकाँडा क्षेत्रलाई प्याराग्लाइडिङका लागि उपयुक्त स्थलका रूपमा विकास गरिँदै आएको छ। वेलकम प्याराग्लाइडिङ कम्पनीका अनुसार ‘कर्णाली समृद्धि २०८२’ अभियानसँगै सुलभ दरमा उडान सञ्चालन गरिँदै आएको छ, जसले आन्तरिक पर्यटनलाई थप चलायमान बनाएको छ।

ADVERTISEMENT

यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन्। करिब १६ वर्षदेखि यस क्षेत्रमा सक्रिय उनी नेतृत्वको टोलीमार्फत चार जना दक्ष पाइलटले दैनिक व्यावसायिक उडान सञ्चालन गरिरहेका छन्।

समुद्र सतहबाट करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा उडानका लागि उपयुक्त मानिन्छ। यहाँको सन्तुलित हावाको बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरिएको छ। बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरण गरिन्छ।

प्याराग्लाइडिङको अनुभव टेकअफ, फ्लाइङ र ल्यान्डिङ गरी तीन चरणमा विभाजित हुन्छ। छोटो समयको उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिने गरेको छ।

प्याराग्लाइडिङ फस्टाउँदै जाँदा स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ। होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ। आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाका अनुसार यस गतिविधिले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, कर्णाली प्रदेशको पर्यटन विकासका नयाँ सम्भावनाको संकेत पनि बनेको छ।