काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै देशको रक्षाका लागि नयाँ आन्दोलन आवश्यक रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनबाट पछि हटे देशको रक्षा गर्न नसकिने जिकिर गरे। उनले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिए।

ADVERTISEMENT

‘देश क्रिटिकल अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ।’

ADVERTISEMENT

ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा नेपाली जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले सरकार बलजफ्ती अघि बढिरहेको र प्रहरीले बर्दी नलगाई पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै ओलीले राज्यले नागरिकको स्वतन्त्रता संरक्षण गर्न नसकेको टिप्पणी गरे। उनले तत्काल वा तिहार तथा छठपछि आन्दोलन हुन सक्ने भन्दै पार्टीका नेता–कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।

आगामी निर्वाचनबारे बोल्दै ओलीले एमालेविरुद्धका योजनालाई निर्वाचनबाट पराजित गर्नुपर्ने बताए। स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई असफल पार्ने गरी जुट्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।