काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ । सरोकारवाला निकाय, सांसद, अर्थविद् तथा निजी क्षेत्रबाट प्राप्त सुझाव समेटेर बजेटलाई अन्तिम रूप दिन काम भइरहेको जनाइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र, सरकारको सुशासन मार्गचित्र तथा आर्थिक सुधारका विषयलाई केन्द्रमा राखेर बजेट तयारी गरिरहेका छन् ।

आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत गर्ने परम्परा कायम छ ।

अर्थमन्त्रीका स्वकीय सचिव नवीन ढुङ्गानाका अनुसार पछिल्ला केही दिनदेखि मन्त्री वाग्ले बिहानदेखि मध्यरातसम्म बजेट लेखन कार्यमा व्यस्त छन् ।

सङ्घीय संसद्ले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि भएको छलफलका क्रममा सांसदहरूले दिएका सुझावलाई लिपिबद्ध गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई उपलब्ध गराइसकेको छ ।

यसअघि अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिसँग समेत बजेटका विषयमा छलफल गरिसक्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाले आगामी बजेटका लागि आफ्ना सुझाव सरकारलाई बुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी बजेटलाई केवल वार्षिक दस्तावेज नभई नेपालको आर्थिक इतिहासकै महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै वर्तमान आर्थिक मोडेलमा आमूल परिवर्तन आवश्यक रहेको सुझाव दिएको छ ।

अर्थमन्त्री वाग्लेले नागरिकले अब भाषणभन्दा परिणाम खोजेको उल्लेख गर्दै कानुनी सुधार, संस्थागत उत्तरदायित्व, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन तथा परिणाममूलक शासन प्रणालीलाई बजेटको केन्द्रमा राखिएको बताएका छन् ।

झन्डै दुई तिहाइ जनमत प्राप्त सरकारले ल्याउन लागेको बजेटलाई यसपटक विशेष चासोका साथ हेरिएको छ । बजेट सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद् भवनमा प्रस्तुत गरिनेछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भइसकेको छ । सभामुख डोलप्रसाद अर्याल, अर्थमन्त्री वाग्लेलगायतको टोलीले सोमबार उक्त भवनको निरीक्षणसमेत गरेको थियो ।