काठमाडौं । बिहीबार सेयर बजारमा ठूलो गिरावट आएपछि अर्थ मन्त्रालयले तत्काल अध्ययनका लागि कार्यदल गठन गरेको छ।
जेनजी आन्दोलनपछि बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको थियो। पुँजी बजारमा देखिएका समस्या र विसंगति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रुपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ।
अर्थमन्त्री रामेश्वर खनालको निर्णयअनुसार बनेको कार्यदलमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक (कामु) रुपेश केसी संयोजक तोकिएका छन्। नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक (कामु) निरन्जन फुयाँल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य-सचिव रहने गरी कार्यदललाई काममा लगाइएको छ।
जेनजी आन्दोलनपछि राजनीतिक अन्योलता बढ्दै गर्दा सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको छ। बिहीबार नेप्से परिसूचकमा आएको तीव्र गिरावटले लगानीकर्तामा थप असुरक्षा र अविश्वास पैदा गरेको भन्दै तत्काल हस्तक्षेप आवश्यक ठानेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमार्फत तत्कालै लागू गर्न सकिने सुधारका कदमहरू पहिचान गरिनेछ।








