काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको स्वीकार गर्दै कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको औंल्याएको छ । वर्तमान आर्थिक अवस्थाबारेको विश्लेषण सार्वजनिक गर्दै मन्त्रालयले पूँजी बजारमा सुधारका लागि विभिन्न सुझावहरू दिएको हो ।

मन्त्रालयले पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई बजारमा प्रवेश गर्न प्रोत्साहित गर्नुपर्ने, गैरआवासीय नेपालीको लगानी भित्र्याउनुपर्ने र ऋणपत्र बजार विकासका लागि तत्काल कानूनी सुधार आवश्यक रहेको उल्लेख गरेको छ ।साथै, दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता कायम गर्नुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ ।

ADVERTISEMENT

उपलब्ध तथ्यांकअनुसार २०८२ फागुनसम्म पूँजी बजारमा २८६ कम्पनी सूचीकृत रहेका छन् । दोस्रो बजार कारोबारमा इक्विटीको हिस्सा ९९.४ प्रतिशत रहेको छ भने सरकारी ऋणपत्र सूचीकृत हुने व्यवस्था भए पनि कारोबार हुन सकेको छैन ।

२०७३ असारमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत बराबर रहेकोमा २०८२ फागुनमा बढेर ७७.७ प्रतिशत पुगेको छ ।यस्तै, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको पूँजीकरण हिस्सा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा घटेर ५२.२ प्रतिशतमा झरेको छ ।

ADVERTISEMENT

सरकार गठन हुनुअघि २०८२ चैत ११ मा नेप्से सूचकांक २ हजार ९५०.१६ बिन्दुमा रहेको उल्लेख गरिएको छ ।