काठमाडौं । बिहीबार बिहान पौने १ बजिसकेको छ। सुनसान सिंहदरबारभित्र अर्थ मन्त्रालय भने उज्यालो थियो। मन्त्रालयको मूल भवनबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र कर्मचारीहरू रात अबेर बाहिर निस्किए। कोही फाइल बोकेर हतारिँदै र कोही मोबाइलमा कुरा गर्दै गरेका देखिए ।
हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारभित्रको माहोल फेरिन्छ। दिनभर बैठक, छलफल र चहलपहलमा व्यस्त हुने अर्थ मन्त्रालय रात परेपछि अझ बढी जागा हुन्छ। यति बेला मन्त्रालयका कर्मचारी र अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेका हुन्छन्। यसपटक पनि दृश्य फरक थिएन।
जेठ १५ गते साँझ ४ बजे सार्वजनिक हुने नेपालको आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले र उनको टोली एक साताअघिदेखि नै रात अबेरसम्म मन्त्रालयमा सक्रिय देखिन्थे। मन्त्रालयका अधिकांश झ्यालहरू रातभर उज्यालै थिए। भित्र कर्मचारीहरू कागजात, तथ्यांक र योजनामाथि गहिरो छलफलमा व्यस्त देखिन्थे। मन्त्रालयका कोरिडोरहरूमा राति अबेरसम्म चहलपहल सुनिन्थ्यो, बैठक कक्षहरूमा निरन्तर छलफल चलिरहेको थियो।
बजेट केवल अंकहरूको हिसाब होइन, यो सरकारको प्राथमिकता, जनताको अपेक्षा र देशको भविष्यसँग जोडिएको दस्तावेज हो। त्यसैले हरेक वर्ष सरकार फेरिए पनि, अनुहार फेरिए पनि, बजेट लेख्ने यो दबाब र दौडधूप उस्तै रहन्छ।
नयाँ सरकारसँगै नयाँ आशा जन्मिन्छ। व्यवसायी कर नीति हेर्न आतुर हुन्छन्, किसान अनुदान र राहतको अपेक्षामा हुन्छन्, युवा रोजगारी र अवसर खोजिरहेका हुन्छन् भने विकास निर्माणको गति कस्तो होला भन्ने चासो आम नागरिकमा रहन्छ।









