काठमाडौँ । गएको आर्थिक वर्ष २०८१\८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकोमा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

ADVERTISEMENT

चालू खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकोमा ९ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।

ADVERTISEMENT

पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकोमा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

गएको आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमा कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।