काठमाडौं । पूर्वगृहमन्त्री तथा वर्तमान सांसद सुधन गुरुङले प्रहरी हिरासत कक्षमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरिएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गुरुङले हिरासतमा रहेका जेनजी अगुवामाथि अमर्यादित, अस्वाभाविक र दबाबमूलक व्यवहार गरेको आरोप लगाएका हुन्।

ADVERTISEMENT

उनीहरूको दाबीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी अगुवाहरूले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए। सो प्रदर्शनका क्रममा प्रहरीले अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई लैनचौरस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखेको थियो।

विज्ञप्तिमा उल्लेख भएअनुसार नियन्त्रणमा लिएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमा प्रवेश गरी उनीहरूसँग अस्वाभाविक व्यवहार गरेको आरोप छ।

ADVERTISEMENT

“पूर्वगृहमन्त्री तथा वर्तमान सांसद सुधन गुरुङ तलबलसहित थुनुवा कक्षमा प्रवेश गरी हामीसँग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गर्नुभयो,” विज्ञप्तिमा भनिएको छ, “उहाँले तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो, अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ, सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस् लगायतका अभिव्यक्ति दिँदै मानसिक दबाब सिर्जना गर्ने प्रयास गर्नुभयो।”

जेनजी अगुवाहरूले हिरासतमा प्रहरी व्यवहार पनि अमानवीय भएको आरोप लगाएका छन्। उनीहरूको भनाइअनुसार हिरासतमा राख्दा पिउने पानीसमेत उपलब्ध नगराइएको थियो।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।