चितवन। भरतपुरस्थित जिल्ला कारागारमा ५० जना कैदी भाइरल ज्वरोबाट प्रभावित भएका छन्। कारागार प्रशासनका अनुसार पछिल्ला दिनमा दैनिक पाँचदेखि सात जनासम्ममा ज्वरोको समस्या देखिन थालेको छ।
कारागार प्रमुख रवीन्द्र ढुङ्गानाले भाइरल ज्वरोका बिरामीको संख्या क्रमशः बढिरहेको जानकारी दिएका छन्। संक्रमित कैदीहरूलाई अन्य बन्दीबाट अलग्गै राखेर उपचारको व्यवस्था गरिएको उनले बताए।
हाल कारागारमा ७१२ जना कैदीबन्दी रहेका छन्, जबकि कारागारको क्षमता ६०० जनाको मात्र रहेको छ। क्षमताभन्दा बढी बन्दी राखिएकाले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ।








