काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले बैंकले नयाँ सुविधा सार्वजनिक गरेको जनाएको छ।
बैंकका अनुसार यही वैशाख ३१ गते नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग भएको समझदारीपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो। समझदारीपत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।
बैंकले एउटै प्लेटफर्ममार्फत सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने लक्ष्यसहित एनबैंकमा एकीकृत लगानी सेवा थपिएको जनाएको छ। यससँगै नबिल बैंकका ग्राहकहरूले अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) मा दर्ता गर्न तथा किस्ता भुक्तानी गर्न मोबाइल एपकै प्रयोग गर्न सक्नेछन्।
एनबैंक प्रयोगकर्ताले एपको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ आइकनमार्फत सहज रूपमा दर्ता र भुक्तानी प्रक्रिया पूरा गर्न सक्ने बैंकले जनाएको छ। साथै, यो सुविधा प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले ग्राहकलाई लगानीका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु बैंकको मुख्य उद्देश्य रहेको बताए। उनले यो सुविधाले ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।
बैंकका अनुसार विदेशमा रहेका नेपालीले समेत यस सेवामार्फत नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागिता जनाउन सक्नेछन्। विस्तारित सुविधासँगै एनबैंकमार्फत थप एकीकृत डिजिटल वित्तीय सेवा विस्तार गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ।
हाल नबिल बैंकले देशभर २६६ शाखा सञ्जाल र ३१८ एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल सेवामा विशेष जोड दिँदै आएको छ।

ADVERTISEMENT