अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप दुई दिने उच्चस्तरीय भेटवार्तापछि शुक्रबार चीनबाट फर्किएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भएको वार्तामा व्यापार, ताइवान, इरान, ऊर्जा, उड्डयन तथा रणनीतिक स्थायित्वलगायत विषयमा छलफल भएको बताइएको छ ।
बेइजिङ । भव्य स्वागत, राजकीय भोज र औपचारिक समारोहबीच सम्पन्न भएको भेटवार्तापछि दुवै पक्षले सम्बन्धलाई थप स्थिर र व्यावहारिक बनाउने संकेत दिएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले आगामी तीन वर्षका लागि अमेरिका–चीन सम्बन्धलाई “रणनीतिक स्थायित्व” को ढाँचामा अघि बढाउने समझदारी भएको बताएका छन् ।
ट्रम्पले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै चीनले अमेरिकी तेल खरिद गर्ने र अमेरिकी विमान निर्माता बोइङ्गबाट २०० वटा विमान खरिद गर्न सहमति जनाएको दाबी गरेका छन् । यद्यपि उक्त सम्झौताका विस्तृत विवरण सार्वजनिक भइसकेका छैनन् ।
यो वार्ता इरान अमेरिका युद्धका विभिन्न आयामहरुमा छलफल भएपनि हर्मुज र इरानको आणविक कार्यक्रमको बारेमा दुवै राष्ट्रले ठोस सहमति गर्न सकेनन बरु चाइना हर्मुज भन्दा अमेरिका संग तेल किन्ने कुरामा सहमतिमा पुग्यो।
विश्लेषकहरूले यो भेटलाई अमेरिका–चीन सम्बन्धमा तनाव कम गर्ने प्रयासका रूपमा हेरेका छन् । पछिल्ला वर्षहरूमा व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा, ताइवान मुद्दा तथा दक्षिण चीन सागरलाई लिएर दुई देशबीच सम्बन्ध चिसिएको थियो । विशेषगरी अमेरिकी चिप निर्यात नियन्त्रण, चिनियाँ प्रविधि कम्पनीमाथिको प्रतिबन्ध तथा सैन्य प्रभाव विस्तारका विषयले सम्बन्ध थप संवेदनशील बनेको थियो ।
अमेरिकी विश्लेषक रायन फेडासियुकका अनुसार दुवै देशबीच भएका धेरै सहमतिहरू तत्काल कार्यान्वयनभन्दा पनि दीर्घकालीन वार्ताको आधार बन्ने सम्भावना बढी छ । उनका अनुसार केही सहमति “अझै परिपक्व हुन बाँकी” अवस्थामा रहेका छन् ।
भेटवार्ताका क्रममा ट्रम्पले सी जिनपिङलाई आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन् । चिनियाँ पक्षले औपचारिक रूपमा भ्रमण स्वीकार नगरे पनि राज्य सञ्चारमाध्यमहरूले वाशिङ्टनमा संवादलाई निरन्तरता दिनेबारे उल्लेख गरेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार दुवै नेता यस वर्ष एसिया–प्रशान्त आर्थिक सहयोग संगठनको सम्मेलन र जी–२० बैठकका क्रममा पनि पुनः भेट हुन सक्ने सम्भावना छ ।
चिनियाँ सरकारी निकट थिंक ट्यांकका विज्ञ हाइ झाओले ट्रम्पको चीन भ्रमणपछि सी जिनपिङको अमेरिका भ्रमण “प्रतिउत्तर स्वरूपको राजकीय भ्रमण” हुन सक्ने बताएका छन् । उनले संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुनुअघि वा पछि सी अमेरिकाको न्यूयोर्क र वाशिङ्टन भ्रमणमा जान सक्ने सम्भावना पनि औंल्याएका छन् ।
अर्थतन्त्र र भू–राजनीतिक प्रतिस्पर्धाबीच विश्वका दुई ठूला शक्तिबीच संवाद पुनः सक्रिय हुनु अन्तर्राष्ट्रिय बजार, ऊर्जा व्यापार, प्रविधि क्षेत्र तथा एसिया–प्रशान्त क्षेत्रीय सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिएको छ ।








