काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दा बीचमै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले छाडेको विषयमा सरकारको जवाफ माग गरेको छ ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री नै बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै जवाफ माग गरेकी छन् । ‘हिजो बिरलै देखिने दृष्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन,’ मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भनिन्, ‘सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।’
थापाले प्रधानमन्त्रीको कदमलाई संसदीय मर्यादा र संवैधानिक संस्कार विपरीतको कार्य भएको बताइन्। थापाले यो घटनाले संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको तर्क गरिन् ।
कांग्रेसले यस विषयमा सरकारसँग तत्काल स्पष्ट जवाफ माग गरेको छ। सांसद थापाले भविष्यमा यस्ता घटना दोहोरिन नहुने भन्दै प्रधानमन्त्रीको तर्फबाट सदनमा स्पष्टीकरण आउनुपर्ने माग गरिन्। उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराइन्।
आइतबारको संसद् बैठकमै सत्ता एमाले सांसद गुरु बरालले समेत प्रधानमन्त्रीको यो व्यवहारको कडा आलोचना गरेका थिए।






