काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनको पक्षमा उभिएका नेता–कार्यकर्तामाथि पार्टी नेतृत्वले कांग्रेस फुटाउन खोजेको आरोप लगाएको बताएका छन्। उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै संस्थापन पक्षले निराधार आरोप लगाएको जिकिर गरे।
आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसको भविष्य सुरक्षित गर्न नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए। उनका अनुसार पार्टी कमजोर बन्दै गएको अवस्थामा त्यसलाई जोगाउनकै लागि विशेष महाधिवेशनको माग गरिएको हो।
“नेतृत्व जोगाउने नाममा कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यका लागि नेतृत्व फेर्ने भन्ने निर्णय हाम्रो हातमा छ,” पौडेलले भने, “महाधिवेशन प्रतिनिधिहरुले कांग्रेसका लागि आफ्नो जीवन समर्पित गर्नुभएको छ। उहाँहरुले पद नपाउनुभएको हुन सक्छ, तर कांग्रेसप्रतिको निष्ठामा कुनै कमी छैन।”
उनले विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरु कांग्रेस फुटाउन नभई पार्टीलाई बलियो, एकताबद्ध र भविष्यतर्फ उन्मुख बनाउन चाहेको स्पष्ट पारे। प्रतिनिधिहरुमाथि पार्टी विभाजनको आरोप लगाइनु अन्यायपूर्ण र अपमानजनक भएको उनको भनाइ थियो।
नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेसको विभाजन नचाहेको दोहोर्याउँदै पार्टीभित्र आन्तरिक लोकतन्त्र, नेतृत्व सुधार र एकताको आवश्यकता औंल्याए। उनले महाधिवेशनलाई कांग्रेस पुनर्जागरणको अवसरका रूपमा लिन आग्रह पनि गरे।






