काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निकट भविष्यमै अलग अलग बाटो तय गर्ने भएका छन् । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफूहरूसँग झुक्न नमानेको झोकमा देउवा समूहले नयाँ पार्टीाको गृहकार्य सुरु गरेको छ ।

कांग्रेसको संस्थापन पक्षसँग सार्थक संवाद हुन नसकेपछि समानान्तर महाधिवेशनको तयारीमा रहेको इतर पक्षको विस्तारित बैठक सोमबार बस्दै छ । काठमाडौं महाराजगन्जस्थित चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा सोमबार दिउँसो १ बजे बस्ने गरी विस्तारित बैठक बोलाइएको छ ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यका साथै काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई आमन्त्रण गरिएको छ ।

ADVERTISEMENT

शुक्रबार बसेको संस्थापन इतर पक्षको बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै विस्तारित बैठक बोलाएको हो । विस्तारित बैठकबाटै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी छ । सो भेलाले अलग पार्टीको घोषणासम्म गर्ने बताइन्छ । देउवा समूहले आफ्नो पक्षमा नेतृत्व गर्ने नेताको अभाव देखेर शेखर कोइरालालाई अध्यक्ष बनाउने तयारी गरेको छ । यसका लागि विमलेन्द्र निधिलगायतले शेखरसँग पटकपटक छलफल गरिसकेका छन् ।

ADVERTISEMENT

शेखर आफ्नो समूहमा आएमा गगन–विश्व कमजोर हुने र कांग्रेसमा रहेका धेरै नेता कार्यकर्ता आफ्नोमा आउने बुझाइ देउवा समूहको छ । सोही कारण आगामी ६ साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वानको तयारी रहेको कान्छाराम तामाङले बताए । यदि नयाँ पार्टी खोलेर जाने विषयमा सहमति नजुटे राष्ट्रिय भेलाले कांग्रेसको १५औँ महाधिवेशनको तालिका ल्याउने उनले दाबी गरे ।

‘गगन थापासँग सहमति हुँदैन भन्ने निष्कर्ष रह्यो । सहमतिको खाका ल्याउँछु भनेको पनि महिना दिन बित्यो । अदालतबाट फैसला भएको पनि यतिका दिन भयो । सहमतिको कुनै प्रयास छैन । उहाँहरू एकलौटी ढंगले चलेपछि हामी चुप लागेर बस्ने कुरा भएन । हामी पनि १५औँ महाधिवेशनको तयारी गर्छौँ,’ उनले भने, ‘तीन महिना गइसक्यो, सदस्यता नवीकरण गरेका र अद्यावधिक गरेका दुवैलाई मानौँ, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यलाई केन्द्रीय समितिमा राखौँ भनेको हो । त्यसमा पनि उहाँहरू तयार नभएपछि कुरा प्रस्टै छ नि ।’

ADVERTISEMENT

कांग्रेसले भने नयाँ क्रियाशील सदस्यता वितरणको समय फेरि थपेको छ । आगामी ३ साउनसम्म क्रियाशील सदस्यता लिन सकिने गरी कांग्रेसले समय थपेको हो । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले समय थपेको हो ।

कांग्रेस संस्थापनले भने पार्टीमा काम गर्न चाहनेलाई स्वागत गर्ने, हदैसम्म लचक बन्ने तर धम्की दिएर देखाइदिन्छु भन्ने भावना बोकेका कांग्रेस नेता कार्यकर्तालाई पार्टीमै बस्न अभिप्रेरित नगर्ने नीति लिएको छ । कांग्रेस सभापति गगन थापाले समेत छाडेर जान्छु भन्नेलाई बस नभन्ने बताइसकेका छन् ।