काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
दमसहितका स्वास्थ्य समस्याका कारण केही दिनअघि अस्पताल भर्ना भएका खरेल लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए। काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका उनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
तत्कालीन नेशनल कलेज (हाल शंकरदेव कलेज) मा नेपाल विद्यार्थी संघको इकाइ कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिमा प्रवेश गरेका खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी करिब नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।
बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई आफ्नो राजनीतिक आदर्श मान्ने खरेल २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।






