काठमाडौं । लघुवित्त क्षेत्रमा वित्तीय जोखिम बढ्दै गएको देखिएको छ । सञ्चालनमा रहेका कुल ५१ वटा मध्ये हालसम्म १० वटा लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा खुद मुनाफामा केही सुधार भएपनि झण्डै १९ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिनुले पनि यस क्षेत्रमा वित्तीय जोखिम बढेको देखिएको हो ।
लघुवित्त संस्थाहरुले सानो सानो परिमाणमा कर्जा प्रवाह गर्ने भएपनि पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनका कारण लघुवित्त क्षेत्रमा ठुलो परिमाणमा कर्जा उठाउन सकेका छैंनन । यसले गर्दा लघुवित्त क्षेत्रमा निष्क्रिय अर्थात खराब कर्जाको मात्र बढ्दै जाँदा यो क्षेत्रमा वित्तीय जोखिम बढेको हो । यसको प्रष्ट संकेत लघुवित्त संस्थाहरुको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा पनि देखिन्छ । हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये सबै भन्दा बढी निष्क्रिय कर्जा मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थामा देखिएको छ । गत आवको तेस्रो त्रैमासमा नौं दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको यो संस्थामा पछिल्लो अवधिमा निष्क्रिय कर्जा बढेर १८ दशमलव ८४ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेपनि संस्थाले खुद मुनाफा पनि बढाएको छ । चालु आवको तेस्रो त्रैमासमा मेरो माईक्रो फाईनान्सले १४ करोड ८५ लाख ७५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले १२ करोड ९३ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा एनआईसी एशिया र आरएसडिसी लघुवित्तले पनि क्रमशः १० करोड ६९ लाख १६ हजार र छ करोड ५६ लाख ४७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः १६ दशमलव ५९ र तीन दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा संस्थाले क्रमशः १२ लाख ९८ हजार र छ करोड ९८ लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः १३ दशमलव ५५ र तीन दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गुराँस, सर्पोट र जीवन बिकास लघुवित्त वित्तीय संस्थाले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः चार करोड तीन लाख २७ हजार, चार करोड ६७ लाख ८४ हजार र ६२ करोड ६९ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ४१, तीन दशमलव ३१ र चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि संस्थाहरुले क्रमशः दुई करोड ७१ लाख १२ हजार, तीन करोड छ लाख ४९ हजार र ३५ करोड ५६ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव शुन्य एक, एक दशमलव ६४ र चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
लघुवित्त क्षेत्रमा नाफा र निष्क्रिय कर्जा (एनपिएल) को अवस्था (रकम रु हजारमा, एनपिएल प्रतिशतमा)

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा हिमालयन र साना किसान लघुवित्त वित्तीय संस्थाले पनि क्रमशः आठ करोड १० लाख ५४ हजार र ४८ करोड ३२ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः १० दशमलव शुन्य चार र चार दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि संस्थाहरुले क्रमशः पाँच करोड ३४ लाख ९१ हजार र ५४ करोड ५० लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ३४ र दुई दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । आशा र महुली लघुवित्त वित्तीय संस्थाले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १७ करोड ६२ लाख ६२ हजार र १२ करोड २८ लाख ११ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः नौं दशमलव ८९ र आठ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि दुई संस्थाहरुले क्रमशः छ करोड ५५ लाख ८३ हजार र ८९ लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९७ र चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।








