काठमाडौं – सञ्चालनमा रहेका १४ वटा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम एक खर्ब सात अर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम एक खर्ब सात अर्ब ३६ करोड ६५ लाख रुपैयाँ पुगेको हो । यस अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ४२ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा कुल निक्षेपको तुलनामा कर्जा लगानीको अनुपात अर्थात सिडी रेसियो भने ७५ दशमलव २१ प्रतिशत रहेको छ । यसैगरी खुद तरलता अनुपात ३४ दशमलव ७२ प्रतिशत र वैधानिक तरलता अनुपात अर्थात एसएलआर ३० दशमलव ८४ प्रतिशत रहेको छ । तर, फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा भने उच्च देखिएको छ ।

ADVERTISEMENT

प्रतिवेदन अनुसार १४ वटा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा अनुपात सात दशमलव ६६ प्रतिशत रहेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब १५ करोड ५ लाख रुपैयाँ रहेको छ भने कुल पुँजी कोष १६ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरु मध्ये जानकी फाइनान्सको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ । यो फाईनान्सको कोर पुँजी २५ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने कुल पुँजी कोष पनि ऋणात्मक रहेको छ । सर्वसाधारणको दुई अर्ब ३१ करोड ५३ लाख रुपैयाँ निक्षेप रहेको जानकीको कुल कर्जा रकम दुई अर्ब १६ करोड २३ लाख रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

सीडी रेसियो ९८ दशमलव ५७ प्रतिशत रहेको जानकी फाईनान्समा ६१ दशमलव ५५ प्रतिशत कर्जा खराब देखिएको छ । जानकी पछि पोखरा फाईनान्समा पनि खराब कर्जा उच्च देखिएको छ । प्रतिवेदन अनुसार २०८३ को असार मसान्तसम्ममा पोखरामा २० दशमलव ८४ प्रतिशत कर्जा खराब देखिएको छ ।

यि बाहेक नेपाल फाइनान्समा १३ दशमलव ८३ प्रतिशत, बेस्ट फाइनान्समा १३ दशमलव ६९ प्रतिशत, गोर्खाज फाइनान्समा १३ दशमलव ३२ प्रतिशत, सेन्ट्रल फाइनान्समा १० दशमलव ४० प्रतिशत र रिलायन्स फाइनान्सान छ दशमलव ५५ प्रतिशत कर्जा खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी गुडविलमा छ दशमलव २७ प्रतिशत, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाईनान्समा पाँच दशमलव २० प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्समा तीन दशमलव ७४ प्रतिशत, मञ्जुश्री फाइनान्सान तीन दशमलव ४२ प्रतिशत, मल्टिपर्पस फाइनान्समा तीन दशमलव ३० प्रतिशत र प्रोग्रेसिभ फाइनान्समा तीन दशमलव एक प्रतिशत कर्जा खराब देखिएको छ ।

प्रतिवेदन अनुसार सबै भन्दा कम खराब कर्जा आईसीएफसी फाइनान्समा देखिएको छ । आईसीएफसीमा एक दशमलव ५५ प्रतिशत मात्र कर्जा खराब देखिएको छ । निक्षेप तथा कर्जा लगानीको आकारका आधारमा भने मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स अगाडि देखिएका छन् ।

मञ्जुश्रीको कुल निक्षेप २४ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने कुल कर्जा लगानी २१ अर्ब १७ करोड २४ लाख रुपैयाँ पुगेको छ । यसैगरी आईसीएफसी फाइनान्सको कुल निक्षेप २२ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ र कुल कर्जा १९ अर्ब ३३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

रिलायन्सको निक्षेप ११ अर्ब १० करोड ८६ लाख रुपैयाँ र कर्जा नौं अर्ब ४४ करोड ४७ लाख रुपैयाँ रहेको छ । गुडविल फाइनान्सको निक्षेप १३ अर्ब २९ करोड ६० लाख रुपैयाँ र कर्जा नौं अर्ब २१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रतिवेदनअनुसार अझै दुईवटा फाइनान्स कम्पनी समस्याग्रस्त सूचीमा रहेका छन् । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीमा रहेका हुन् । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको चुक्ता पुँजी २३ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीमा कुल निक्षेप २१ करोड ९१ लाख रुपैयाँ मात्रै रहेकोमा कुल कर्जा लगानी भने २ अर्ब १५ करोड २३ लाख रुपैयाँ पुगेको छ । यो फाईनान्समा शतप्रतिशत कर्जा खराब रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको चुक्ता पुँजी ९३ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल निक्षेप दुई करोड ७२ लाख रुपैयाँ रहेकोमा कुल कर्जा ६६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार यो फाईनान्समा पनि शतप्रतिशत कर्जा खराब रहेको छ ।