काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले  अर्थमन्त्रीले प्रस्तुत गरेको देशको आर्थिक स्थिति पत्रले यथार्थलाई तथ्यसहित प्रस्तुत गर्ने प्रयास गरेको भन्दै स्वागत गरेका छन् । तर समस्या पहिचान गर्नु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै त्यसको समाधानका लागि स्पष्ट संकल्प, कार्ययोजना र कार्यान्वयनको विश्वसनीय खाका आवश्यक रहेको उनले सामाजिक संजाल मार्फत प्रस्तुत गरेका छन् ।

राणाले अर्थमन्त्रीलाई आर्थिक यथार्थलाई ढाकछोप नगरी सार्वजनिक गरेकोमा धन्यवाद दिँदै अब चुनौती समाधान गर्ने ठोस नीति र स्पष्ट दिशा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

उनका अनुसार स्थिति पत्रमा नेपालको आर्थिक चुनौतीसँगै कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, उत्पादन र रोजगारीका क्षेत्रमा रहेका सम्भावनालाई समेटिएको छ। तर यी विषय नयाँ नभएको उल्लेख गर्दै यस्ता सम्भावनाबारे नेपालले वर्षौंदेखि चर्चा गर्दै आएको पनि जानकारी दिएका छन् ।
“समस्या र सम्भावना पहिल्यै पहिचान भइसकेका छन्। अब सरकारको जिम्मेवारी ती सम्भावनालाई परिणाममा बदल्नु हो,” उनको धारणा छ।
सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि त्यसलाई कसरी हासिल गर्ने भन्ने स्पष्ट नीति, प्राथमिकता र कार्यान्वयन योजना प्रस्तुत नगरेको राणाको आरोप छ।
उनले निजी क्षेत्र अझै अन्योलमा रहेको, लगानीकर्ता पूर्ण रूपमा विश्वस्त हुन नसकेको र प्रशासनिक जटिलता यथावत् रहेको उल्लेख गर्दै केवल दस्तावेजमा महत्वाकांक्षी लक्ष्य लेखेर मात्रै अर्थतन्त्र चलाउन नसकिने स्पष्ट पारेको छन्।

उनले पार्टी अहिले मुलुकलाई संरचनात्मक आर्थिक सुधारको दोस्रो चरण, नीतिगत स्थिरता, संस्थागत सुधार तथा परिणाममुखी शासन प्रणालीको आवश्यकता रहेको बताएका छन् ।

ADVERTISEMENT

नेपाली कांग्रेसले विगतमा आर्थिक उदारीकरण र सुधारमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिएको स्मरण गराउँदै आफूहरूले लामो समयदेखि उठाउँदै आएको ‘इकोनोमिक रिफर्म्स २.०’ कार्यान्वयनका लागि सरकारबाट स्पष्ट नीति, समयसीमा र कार्यान्वयन योजनाको अपेक्षा गरेको जनाएको छ।
कांग्रेसले राष्ट्रिय हितका लागि गम्भीर आर्थिक सुधारका एजेन्डामा सरकारलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको पनि राणाले उल्लेख गरेको छन् ।
संसद्मा झन्डै दुई तिहाइ बहुमत रहेको सरकारले समस्या देखाएर मात्रै आफ्नो दायित्व पूरा भएको ठान्न नहुने भन्दै उनले  समाधानको स्पष्ट मार्ग देखाउनुपर्नेमा जोड दिएका छन् ।

आगामी बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको सन्दर्भमा कांग्रेसले बजेट विस्तृत, यथार्थपरक र कार्यान्वयनमुखी हुने अपेक्षा व्यक्त गरेको छ।
विगतका सीमितताबाट सिक्दै नीति निर्माण र बजेट प्रक्रियामा परामर्श तथा समावेशी सहभागितालाई प्राथमिकता दिइने विश्वास व्यक्त गर्दै कांग्रेसले प्रतिपक्षका रचनात्मक सुझावहरूलाई अर्थपूर्ण रूपमा समेट्न आग्रह गरेको छ।

सहमहामन्त्री राणाले आगामी बजेटले जनअपेक्षाअनुसार ठोस परिणाम दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।