काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले सरकारले उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमार्फत देशको आर्थिक संरचना रूपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन्।
अर्थमन्त्रीले राजनीतिक स्थायित्व र जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी दिएको उल्लेख गर्दै बजेटलाई केवल संवैधानिक औपचारिकता नभई राज्यको चरित्र, शासन प्रणाली र अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने नीतिगत साधनका रूपमा लिएको बताए।
उनका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनसम्बन्धी अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट तयार गरिएको छ।
उनले नेपालको राजनीतिमा पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै क्षेत्रमा परिवर्तनको तीव्र अपेक्षा रहेको उल्लेख गर्दै नीति, कानुन, संस्था, प्रक्रिया र नेतृत्वमा सुधारमार्फत सुशासनका नयाँ मानक स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
अर्थमन्त्रीले नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा राखे। साथै आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्न थप संरचनात्मक सुधार आवश्यक रहेको उनले बताए।
सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार, लगानी तथा विश्वभर फैलिएको नेपाली समुदायको सामर्थ्यलाई उपयोग गर्ने समय आएको उल्लेख गर्दै उनले समन्यायिक आर्थिक वृद्धिको चक्र निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए।
उनका अनुसार अधिकांश आर्थिक परिसूचक सुधारोन्मुख अवस्थामा छन्। विदेशी विनिमय सञ्चिति सुदृढ रहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको तथा ऊर्जा र नयाँ प्रविधिमा ठूलो सम्भावना रहेको उनले बताए।
यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको सुस्तता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेको उल्लेख गर्दै अर्थमन्त्रीले आगामी बजेटले यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरे।








